परिचय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
गण्डकी प्रदेश

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गण्डकी प्रदेश अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो।

वि.सं. २०६२/०६३ को जनआन्दोलनले संविधानिक राजतन्त्रलाई विस्थापित गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रूपान्तरण गरेको थियो। संविधान सभाबाट निर्मित संविधानले मुलुकलाई कानुनी रूपमा संघीय संरचनामा रूपान्तरण गरेपछि सातवटा प्रदेशहरू कायम गरिएका छन्। यसै सन्दर्भमा गण्डकी प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई सक्रिय रुपमा परिचालन गर्दै, भूमिको प्रकृतिको आधारमा उपयोग गर्ने नीति अनुरूप कृषि तथा पशुपन्छीजन्य उत्पादन एवं व्यापारमा यान्त्रिकरण, व्यवसायिकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्था सिर्जना गर्दै यस क्षेत्रको रूपान्तरण र रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना मिति २०७४/१०/२२ गते गरिएको हो।

व्यवसायिक पशुपन्छी तथा मत्स्य पालनका लागि सम्भावनायुक्त रहेको यस केन्द्रको कार्यक्षेत्रभित्र पशुजन्य पदार्थ — दूध, मासु, अण्डा, माछा आदिमा आत्मनिर्भरता हासिल गरी निर्यात प्रवर्द्धन गर्न विविध कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ। ती कार्यक्रमहरूमा पशुको नस्ल सुधार, पशु आहार विकास, पशु स्वास्थ्य संरक्षण, वैज्ञानिक प्रविधि र सीपको विकास, व्यवसायिकरण, पशुजन्य पदार्थको प्रशोधन तथा बजार व्यवस्थापन जस्ता कार्यहरू समावेश छन्।

यस कार्यालयले वातावरणीय र सामाजिक सन्तुलन कायम राख्दै ग्रामीण परिवारको खाद्य सुरक्षा, पोषण, आम्दानी र रोजगारी अभिवृद्धि गरी गरिबी न्यूनीकरण गर्न पशु उत्पादकत्व वृद्धि गर्ने कार्यमा विशेष जोड दिँदै आएको छ, जसबाट ग्रामीण जनता आत्मनिर्भर र सक्षम बन्न सकून् भन्ने उद्देश्य लिएको छ।